“सफ्ट्वेयरले संसार खाइरहेको छ”- उद्योगपति ‘मार्क एण्ड्रिसेन’ (Marc Andreessen) ले भने, “कसै न कसैले त त्यो सफ्ट्वेयर लेख्नैपर्ने हुन्छ भने त्योमध्ये तपाईँ पनि पर्नसक्नुहुन्छ। संसारमा १००० भन्दा बढी प्रोग्रामिङ्ग ल्याङ्ग्वेजहरू छन्, तर त्यसमध्ये पनि कुनै-कुनै अति नै प्रचलित रहेका छन्।”
प्रोग्रामिङ्ग ल्याङ्ग्वेज (Programming Language) भनेको एक यस्तो गणितीय भाषा हो जसले मेसिनहरूसँग संचार गर्नको लागि निर्देशन गर्दछ। कुनै पनि मेसिन जस्तै, कम्प्युटर, रेफ्रिजेरेटर, राउटर, मोबाइल आदिको व्यवहारलाई प्रोग्रामिङ्ग ल्याङ्ग्वेजबाट निर्देशन गर्न सकिन्छ। अथवा कुनै पनि गणितीय समस्याको समाधानको लागि एल्गोरिदमको विकास गर्न पनि प्रोग्रामिङ्ग ल्याङ्ग्वेजले मद्दत गर्दछ।

जब कुनै पनि सफ्ट्वेयर कम्पनीले नयाँ व्यक्ति खोज्दछन्, जसले प्रोग्रामिङ्ग ल्याङ्ग्वेज जानेको होस्, त्यतिबेला जसले सबैभन्दा प्रचलित ल्याङ्ग्वेज जानेको हुन्छ अथवा कम्पनीले प्रयोग गर्ने ल्याङ्ग्वेज जानेको हुन्छ, उसैलाई नै छनोट गर्दछ।
त्यसैले यदि यस्ता कम्पनीहरूमा जागिर पाउन चाहनुहुन्छ भने यी १० मध्ये कुनै एक प्रोग्रामिङ्ग ल्याङ्ग्वेजमा पोख्त हुनुपर्दछ। के-के रहेछन् त, हेर्नुहोस्-
१. ‘जाभा’ (Java)
यो प्रोग्रामिङ्ग ल्याङ्ग्वेज सन् १९९१ मा विकास भएको हो। सुरुमा यसको प्रयोग टेलिभिजनको लागि भएको थियो र अहिले ‘ओराकलको जाभा’ (Oracle’s java) संसारको सबैभन्दा चर्चित प्रोग्रामिङ्ग ल्याङ्ग्वेज हुन पुगेको छ। अहिले एण्ड्रोइड एप तथा कैयौँ व्यावसायी एप बनाउनको लागि पनि जाभाकै प्रयोग गरिन्छ।
२. ‘पि.एच्.पि’ (PHP)
वेबसाइटहरू बनाउनको लागि यो प्रोग्रामिङ्ग ल्याङ्ग्वेज सबैभन्दा बढी प्रयोग गरिन्छ। अनुमानअनुसार विश्वमा भएका वेबसाइटहरूमध्ये करिब एक-तिहाई भागको वेबसाइटहरू पि.एच्.पि बाटै बनाइएको हो। ठूल-ठूला वेबसाइट जस्तै, फेसबुक, याहु, वर्डप्रेसहरूले पनि यहि ल्याङ्ग्वेज नै प्रयोग गर्ने गर्दछन्।
तथापी पि.एच्.पि लाई मन नपराउने कैयौँ प्रोग्रामरहरू पनि छन्। उनीहरू भन्छन् कि “यो ल्याङ्ग्वेजमा हामीले चाहेअनुसार र सोचेअनुसार प्रोग्रामिङ्ग गर्न सक्दैनौँ।”
३. ‘पर्ल’ (Perl)
नासाका इन्जिनियरहरूले सन् १९८९ तिर बनाएको यो पर्ल ल्याङ्ग्वेजले टेक्स्टलाई प्रोसेस गर्न सबैभन्दा सजिलो तरिकाले गर्दछ। सफ्ट्वेयर डेभ्लपरहरूले भन्छन् कि यो ल्याङ्ग्वेज शक्तिशाली र लचकदार छ। कुनैबेला यसलाई सबैले ‘डक्टटेप अफ द वेब’ भनेर चिन्दथे, किनभने यसले सबै वेबसाइटहरूलाई एकैठाउँमा समेटेर राख्दछ।
४. ‘सि’ (C)
अझसम्मकै सबैभन्दा पुरानो प्रोग्रामिङ्ग ल्याङ्ग्वेजमध्ये सि पनि एक हो। यसको विकास सन् १९७०मा भएको थियो र धेरै जसो कम्प्युटरको सफ्टवेयरहरू सि बाटै बनाइएको हो। सन् १९७८ मा सि प्रोग्रामिङ्ग ल्याङ्ग्वेजको म्यानुअल पुस्तक सबैभन्दा बढी बिकेको पुस्तक भएको थियो।
५. ‘अब्जेक्टिभ सि’ (Objective C)
सुरुमा बनेको सि ल्याङ्ग्वेज सबैभन्दा प्रख्यात भएको थियो र त्यसैबाट उत्प्रेरित भएर धेरै प्रोग्रामिङ्ग ल्याङ्ग्वेज पनि बनेको थियो जसमा पुरानोको साथसाथै नयाँ फिचरहरू पनि समावेश गरिएको छ।
अहिले अब्जेटिभ सि आइफोनको एपहरू बनाउन प्रयोग गरिन्छ। तर एप्पलले आफ्नै छुट्टै प्रोग्रामिङ्ग ल्याङ्ग्वेज ‘एप्पल स्विफ्ट’ बनाउने तरखरमा छन्।
६. ‘जाभास्क्रिप्ट’ (Javascipt)
यो पनि वेबसाइटमा एपहरू बनाउनको लागि एकदम चर्चित प्रोग्रामिङ्ग ल्याङ्ग्वेज हो तर यसको नाममा जाभा भएपनि यसको र जाभाको कुनै पनि सम्बन्ध भने रहेको छैन। यो धेरै वेबसाइटहरूमा प्रयोग गरिएको देखिन्छ तर यसले गर्दा वेबसाइट ढिलो चल्ने र सुरक्षित नहुने खतरा पनि हुँदछ।
७. ‘भिज्युअल बेसिक’ (Visual Basic)
माइक्रोसफ्टको भिज्युअल बेसिक र यसको अर्को भाग भिज्युअल बेसिक डटनेटले पनि प्रोग्रामिङ्गको क्षेत्रमा सजिलोपना भित्र्याएको छ। यसमा भएको ड्र्याग एण्ड ड्रप फिचरले गर्दा सफ्ट्वेयर बनाउनको लागि धेरै नै सजिलो हुने गर्दछ।
यो पुरानो ल्याङ्ग्वेज हो तर कसै-कसैले यसमा धेरै फिचर नभएको भन्छन् तथापी यसलाई मनपराउने प्रोग्रामरहरूको पनि कमी छैन।
८. ‘रूबी’ (Ruby)
२४ वर्षीय पुरानो यो प्रोग्रामिङ्ग ल्याङ्ग्वेजलाई मन पराउने पनि धेरै छन् किनभने यो पढ्न र लेख्न सजिलो रहेको छ। यसमा ‘रेल्स’ (Rails) भन्ने फिचर पनि समावेश गर्न सकिन्छ जसले वेब एपहरू बनाउनको लागि सहज गराइदिन्छ। यसको मूख्य नारा ‘प्रोग्रामरहरूको राम्रो साथी’ रहेको छ।
९. ‘पाइथन’ (Python)
यो ल्याङ्ग्वेज सन् १९८९ देखि नै चल्दै आइरहेको छ र यसलाई मन पराउने पनि धेरै छन्। यो पढ्न पनि सजिलो छ र यसमा कोड गर्न पनि सजिलो भएको पाइथन प्रोग्रामरहरूको विचार रहेको छ। धेरै प्रोग्रामरहरूको सुझावअनुसार यो ल्याङ्ग्वेज सिखारूहरूको लागि अति उपयुक्त रहेको छ।
१०. ‘सि.एस्.एस्.’ (CSS)
‘सि.एस्.एस्.’ को पूर्ण रूप ‘क्यास्केडिङ्ग स्टाइल सिट’ (Cascading Style Sheets) हो र यसले वेबसाइटको डिजाइन र ढाँचालाई आफ्नो निर्देशन अनुसार बदल्नको लागि मद्दत गर्दछ। धेरै जसो वेबसाइटको मेन्यू र मोबाइल एपको मेन्यूहरू यसै बाट प्रोग्राम गरिन्छ।
No comments:
Post a Comment